कर्मचारी अभाव खेप्दै फुडलिङ, कसरी काम गर्दैछन् प्रकाशकीय अधिकृत? - Chaitanya News
  • 2026-11-17
  • 01:02:21
  • सोमबार,मंसिर ०१, २०८३
  • कर्मचारी अभाव खेप्दै फुडलिङ, कसरी काम गर्दैछन् प्रकाशकीय अधिकृत?

    कर्मचारी अभाव खेप्दै फुडलिङ, कसरी काम गर्दैछन् प्रकाशकीय अधिकृत?

    काठमाडौं- स्थानीय तह जनताको नजिकको सरकार हो। नजिकको सरकार भएकै कारण उससँग जनताका धेरै अपेक्षा हुन्छन्। ती अपेक्षा पुरा नहुँदा जनताका गुनासा पनि रहन्छन्। जनताका अपेक्षा पुरा गर्न जनप्रतिनिधिमात्र नभएर कर्मचारीको पनि ठूलो भूमिका हुन्छ। पछिल्लो समय कर्मचारीहरूमा सुगमताको मोह बढ्दो छ।

    देशको जुनसुकै भूभागमा पुगेर पनि राष्ट्र सेवा गर्छु भन्दै सरकारी सेवामा प्रवेश गर्ने अधिकांश कर्मचारीहरूमा सेवा प्रवेशपछि सुगममा काम गर्ने रहर जाग्छ। जसले गर्दा दुर्गमका पालिकाहरूले कर्मचारी अभावको समस्या खेप्दै आएका हुन्छन्। कर्मचारी अभाव हुँदा कामकाज सहज हुँदैन र जनताले सास्ती खेप्नु परिरहेको हुन्छ।

    ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल रिमाल भने हिमाली जिल्लामा रमिरहेका छन्। उनी १९ महिनादेखि उक्त पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। ठाउँको दुर्गमता, कर्मचारीको अप्रयाप्ततालगायत थुप्रै समस्या खेपिरहनु परेको छ उनले।

    जहाँ रहेर भए पनि काम राष्ट्रसेवा नै गर्नुपर्छ भन्ने चेतनाको हुटहुटीले उनी अभावलाई चिर्दै आफ्नो कर्ममा रमिरहेका छन्। ‘स्थानीय तहको जागिर। हिमाली जिल्ला। कतिपय कुरामा राजनीतिज्ञहरूको पनि दबाब हुन्छ। जनताको अपेक्षा हुन्छ। कर्मचारीको अभाव छ। यी सबैबाट जोगिँदै आफूले सके जति राम्रो सेवा प्रदान गरिरहेका छौं,’ उनले भने।

    उनले प्रेसरमा रहेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए। मुलुकको कानुन भन्दा बाहिर कोही पनि जान नहुने तर्क गर्दै उनले कानुनमै रहेर सेवा प्रवाह गर्नुका साथै विभिन्न काम गरिरहेको जानकारी दिए।

    नगरपालिका र ११ वटा वडामै कर्मचारीहरूलाई खटाएर सेवा प्रवाह गरिरहेको भए पनि कर्मचारीको अभाव रहेको उनको गुनासो छ। ‘यो ‘क’ वर्गको जिल्ला हो। यहाँ भनेको समयमा सरुवा पनि हुँदैन। यहाँ प्राविधिक उपसचिवको दरबन्दी छ। उपसचिवको त कुरै नगरौं, प्राविधिकतर्फ शाखा अधिकृत पनि छैनन्। शिक्षामा पनि सेकेन्ड क्लासकै दरबन्दी हो। त्यो पद पनि खाली छ,’ उनले भने।

    पालिकामा कृषि शाखामा एउटा पनि स्थायी कर्मचारी छैनन्। पालिकाले सबै कर्मचारी करारमा राखेको छ। वडा सचिव पनि कम रहेको उनको गुनासो छ। कतिपय अवस्थामा प्राविधिकतर्फका कर्मचारीबाट नै वडा सचिवको काम गराउनु परिरहेको बाध्यात्मक अवस्था भएको उनले बताए।

    गाह्रो भए पनि थोरै जनशक्तिबाट जनताले गुनासो गर्नु नपर्ने गरी काम गरिरहेको उनको भनाइ छ। सरकारले सबै कर्मचारीको परिपूर्ति गरिदिए अझै सहज रूपमा सेवा प्रवाह गर्न सकिन्थ्यो भन्ने उनको मनमा लागि रहन्छ।

    ‘कर्मचारीहरू सोर्सफोर्स गरेर सुगममा नै जान खोज्छन्। आउने क्रम कम हुन्छ। जसले गर्दा दुर्गमले कर्मचारीको अभाव खेपिरहनु परेको छ,’ उनले भने। यो समस्या समाधानका लागि सरकार नै जागरूक हुनुपर्ने रिमालको सुझाव छ।