अहिलेको समय योग्यता तन्त्रको समय हो। अहिलेको विश्वव्यापी करण र उदारीकरणको बलियो माग भनेको पनि प्रत्येक कुरामा योग्यता चाहिन्छ भन्ने हो। सार्वजनिक प्रशासनमामात्र नभएर एनजिओ, आइएनजिओ र निजी क्षेत्रमा पनि योग्य व्यक्तिको खाँचो हुन्छ। योग्यात्मक प्रतिस्पर्धाले गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउँछ। जहाँ प्रतिस्पर्धाको प्रवर्तन हुन्छ, त्यहाँ गुणस्तरको व्यवस्थापन हुन्छ। गुणस्तर हुने व्यक्तिकै सेवा प्रवाह प्रभावकारी हुन्छ। सेवा प्रवाहमा जनता सन्तुष्ट छैनन्। त्यो हाम्रा लागि चुनौतीको विषय बनिदिएको छ।
हाम्रो नीतिमा समस्या छ। संगठन संरचना र जनशक्तिमा पनि हाम्रो समस्या छ। यसको समाधान भनेको सरकारी सेवा प्रवेश गरेको जनशक्ति र प्रवेश गर्न चाहने जनशक्तिले सेवा प्रवाहमा इमानदारिता र गुणस्तरीयता देखाउनुपर्छ। हामीले प्रस्थान विन्दुबाट नै गुणस्तर दिनुपर्छ। त्यसपछि माथिसम्मै गुणस्तर दिन सकिन्छ। हाम्रो देशको संविधानले लोकसेवा आयोगको व्यवस्था गरेको छ। निजामती सेवामा प्रवेश गर्न दक्ष जनशक्तिको परीक्षण लोकसेवाले गर्छ। त्यो निष्पक्ष रूपमा काम गर्छ। त्यसले व्यक्तिको योग्यता र ल्यागतको निष्पक्ष परीक्षण गर्दै कर्मचारीको छनोट गर्छ।
लोकसेवा दिने जनशक्ति मुलुकको ऊर्जाशील जनशक्ति हो। लोकसेवा दिने उमेर समूहका मानिस यौङ् हुन्छन्। उनीहरूमा केही गर्न चाहने हुटहुटी हुन्छ। तर, दुःखको कुरा हाम्रो बजारमा बर्सेनि पाँच लाख मानिसहरू सरकारी सेवामा प्रवेश गर्न योग्य हुनेगरी उत्पादन भइरहेका छन्। सार्वजनिक सेवाको बजारले भने पुगनपुग करिब एक लाख मानिसलाईमात्र खपत गर्न सकिरहेको छ। मुलुकमा बेरोजगारी हुँदा दैनिक १५ सयदेखि २ हजारको संख्यामा मुलुकको दक्ष जनशक्ति विदेश पलाएन भइरहेको छ।
बेथानचोक गाउँपालिकाले शिक्षित युवाहरूलाई लक्षित गरेर नि:शुल्क रूपमा लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै छ। यसको उद्देश्य भनेको हाम्रो पालिकामा रहेका युवाहरू विदेश पलायन हुनबाट रोकिउन र आफ्नै मुलुकमा रहेर सार्वजनिक सेवाप्रति आकर्षित हुँदै लोकसेवाको तयारी गरुन् भन्ने हो। धेरै विद्यार्थीहरूमा लोकसेवाको तयारी गर्ने रहर हुनसक्छ। तर, कसरी तयारी गर्ने भन्ने आइडिया नहुन सक्छ। काठमाडौं पुगेर नै क्लास लिन सक्ने अवस्था पनि नहुन सक्छ। यी सबै कुरालाई मध्यनजर गर्दै हामीले विगत दुई वर्षदेखि लोकसेवाका नि:शुल्क तयारी कक्षा सञ्चालन गर्दै आएका छौं। यसबाट युवाहरू बढीभन्दा बढी लाभान्वित हुन् भन्ने हाम्रो चाहना छ। कांठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीसँगको सहकार्यमा हामीले यी कक्षा सञ्चालन गर्ने भएका हौं।
हामी बेथाचोकका युवाहरू यहीको माटोसँग भिजुन भन्ने चाहन्छौं। उनीहरूको श्रम र विवेक यहीको माटोको समृद्धिमा खर्च होस् भन्ने हाम्रो चाहना छ। लोकसेवा परीक्षाको अन्तरवार्तामा म दुई पटक असफल भएको थिए। तर, मैले हिम्मत हारिन। मलाई कहिले लोकसेवाले तलमाथि गरेर असफल भए भन्ने लागेन। मलाई मेरो कहीँ कतै कमजोरी रह्यो र मभन्दा अब्बल आए भन्ने नै लाग्यो। तेस्रो पटक त म पनि सफल भए। मेरो मिहिनेत तेस्रो पटक पुग्यो। त्यसैले हामीले हिम्मत नहारेर निरन्तर लोकसेवा तयारी कक्षा लिनुपर्छ। र, नयाँ-नयाँ ज्ञान बटुल्नुपर्छ। अहिले हामीले तपाईंहरूलाई बाटोमात्रै देखाउने हो। मिहिनेत गर्ने त तपाईंहरूको हातमा छ। तपाईंहरू राम्रोसँग अध्ययन गर्नुहोला। हामी पालिकाका बढीभन्दा बढी विद्यार्थीलाई कक्षामा सहभागी गराउन चाहन्छु।
(बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सोमबार पालिकामा आयोजित कार्यक्रममा सम्वोधन कारेको अभिव्यक्तिको सम्पादित अंश)
यो पनि पढ्नुहोस्,