काभ्रे- काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले विद्यार्थीहरूका लागि नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। पालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीसँगको सहकार्यमा जुममार्फत लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो।
सोमबार पालिकामा आयोजित एक समारोहबीच अध्यक्ष भगवान अधिकारीले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने घोषणा गरे। ‘म सबै विद्यार्थीहरूलाई मुलुकको खरिदार, शाखाअधिकृत, प्रमुख प्रशासकीय अधिकृत वा कुनै अन्य सरकारी सेवाको सम्भावना बोकेका व्यक्तिका रूपमा हेरिरहेको छु। तपाईंहरू मज्जाले लोकसेवाको तयारी गर्नुहोस्। साथमा हामी छौं,’ उनले भने।
शिक्षित युवा जनशक्ति विदेश पलायन हुनुभन्दा पनि सरकारी सेवामा आकर्षित भएर स्वदेशमै सेवा गर्न प्रेरित हुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको अवधारणा अगाडि सारिएको उनले बताए। ‘हामी बेथानचोकबाट सरकारी सेवाको उच्च तहमा पुग्न सक्ने जनशक्ति निर्माण गर्न चाहन्छौं। त्यो सम्भावना हामीले तपाईंहरूभित्र नै देखिरहेका छौं,’ उनले भने।
![]()
विकास निर्माणका साथै युवा केन्द्रित कार्यक्रममा पनि आफू गम्भीर रहेको उनको धारणा थियो। ‘यो प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र बन्न सक्छ। वडा नम्बर १ स्थित समुन्द्री सतहबाट करिब ३ हजार १८ मिटर अग्लो स्थानमा रहेको बेथानचोक नारायण मन्दिर छ। जसको निकै ठूलो महिमा छ। यहाँको भूधरातल पनि लोभलाग्दो छ। तर, बाटोघाटोको असहजताले पर्यटकलाई आकर्षण गर्न सकिरहेका छैनौं। हामी त्यो समस्या समाधानमा केन्द्रित छौं,’ उनले भने।
बाटोघाटोको समस्या समाधानका लागि प्रत्येक वर्ष पाँच किलोमिटर सडक आफ्नै लागतमा कालोपत्रे गर्ने लक्ष्य गाउँपालिकाले लिएको उनले जानकारी दिए।
यस्तै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले विद्यार्थीहरूलाई लोकसेवा आयोगका कक्षा लिन आफूहरूले सक्दो सहयोग गर्ने बताए। गत वर्षदेखि नै यो अभियान थालिएको जानकारी दिँदै युवाहरूका लागि प्रभावकारी देखिएकाले आगामी वर्षमा पनि यस कार्यक्रमले निरन्तरता पाउने उनले जानकारी दिए।
![]()
‘सरकारी सेवामा प्रवेश गर्न कडा मिहिनेत गर्नुपर्छ। सामान्य मिहिनेतले पुग्दैन। पहिलो प्रयासमा नै सफलता हासिल नहुन सक्छ। तर, निरन्तर प्रयास गर्दा अवश्य सफलता हासिल हुन्छ,’ उनले भने।
आजको कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहेका एकेडेमीका निर्देशक गणेश जोशीले लोकसेवाको तयारी कक्षा लिने विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गरिने बताए। ‘हामी यहाँका विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने छौं। तपाईंहरूलाई अनलाइनमै नियमित नोटहरू उपलब्ध गराउने छौं। यसका लागि अतिरिक्त सामग्री पनि उपलब्ध हुने छन्। तर, पालिकाले बोकेको लक्ष्यलाई यहाँहरूले सार्थक पारिदिनुहोला,’ उनले भने।
एउटा ढुंगालाई मुर्तिबनाउन निकै कुद्नु पर्ने र त्यसपछिमात्र उ मन्दिरमा पुजिन योग्य हुने उदाहरण दिँदै जोशीले कडा मिहिनेतपछिमात्र सरकारी सेवामा प्रवेश गर्न सहज हुने बताए। औसत भन्दा अतिरिक्त ज्ञान लिनु पर्ने भएकाले विद्यार्थीहरूलाई कक्षामा ध्यान केन्द्रित गरेर क्लास लिन सुझाव दिए।
![]()