काठमाडौं- काठमाडौं महानगरपालिकाले आजबाट बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने भएको छ । महानगरको प्रहरी टोलीले आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोडगेटबाट वसन्तपुर, असन, कमलाक्षी र भोटाहिटीसम्मको तार हटाउने जानकारी दिएको छ ।
कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजधानीको ११ क्षेत्रबाट तार हटाइने जानकारी दिँदै भन्नुभयो– ‘सम्भवतः आजै सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले सबै केवल प्रदायक संस्थालाई तार हटाउन सार्वजनिक सूचना जारी गर्नेछ । प्राधिकरणले सूचना जारी गरेपछि हामी आजैबाट तार हटाउन शुरू गर्नेछौं ।’
यसअघि यही वैशाख ११ गते कामपाले सडक किनारामा भएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट्याग) लगाउन सार्वजनिक सूचना जारी गरेको थियो । तार हटाउन आग्रह गर्दै मेयर साहले सहरी व्यवस्थापनसँग सम्बन्धित यसअघिका समस्यालाई यथावत् राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने बताउनुभएको थियो