काभ्रे- काभ्रेको चौंरीदेउराली-४ स्थित सुँगुरेमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ८४१८ नम्बरको बस आइतबार दिउँसो २ बजे सुँगुरेमा दुर्घटनामा हुँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डी राज न्यौपानेले जानकारी दिए। तीन जना घाइतेलाई उपचारका लागि धुलिखेल ल्याइँदैछ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ।
गुडिरहेको बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।