सांसदलाई विद्युतीय हाजिरीको व्यवस्था गर्न सभामुखको निर्देशन - Chaitanya News
  • 2026-06-22
  • 19:32:46
  • सोमबार,आषाढ ०८, २०८३
  • सांसदलाई विद्युतीय हाजिरीको व्यवस्था गर्न सभामुखको निर्देशन

    सांसदलाई विद्युतीय हाजिरीको व्यवस्था गर्न सभामुखको निर्देशन

    काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक बसेका बेला सांसदहरूलाई विद्युतीय हाजिरी गराउन निर्देशन दिएका छन्।

    आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विभिन्न दलका प्रतिनिधिसँगको छलफलपछि सांसदहरूको उपस्थिति बढाउन विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन दिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

    बैठकमा ई–हाजिरी सुरु गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्ने बारेमा छलफल भएको थियो।

    यस्तै सभामुख घिमिरेले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु गर्ने बताएका छन्। कानुन मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गर्ने र सरकार सदनप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा उपस्थिति बढाउन कानुन मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

    यस्तै सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति गठन प्रक्रिया तीन दिनभित्र टुङ्ग्याउने बताउँदै ती समितिका लागि दलहरूसँग सदस्यहरूको नाम समेत मागेका छन्।