धनगढी- दार्चुलामा पाँच दिनअघि हिम पहिरोमा हराएका दुई जनाको अवस्था अझै अज्ञात रहेको छ। मंगलबार ब्यास गाउँपालिका–१ भोलुङमा हिम पहिरोमा बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परे पनि दुई जनाको अवस्था अझै अज्ञात रहेको हो।
दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार बुधबार फेला परेका तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलङ्गा ल्याइएको थियो। हराइरहेका दुई जनाको खोजी कार्य जारी रहेको उनले बताइन्।
दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव आफन्तले बुझिसकेका छन्।
डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ।