काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले ‘नक्कली शरणार्थी प्रकरण’मा आफ्नो संलग्नता नभएको घुमाउरो प्रष्टीकरण दिएका छन्। खाणले शनिवार विज्ञप्ति जारी गर्दै आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै आएका समाचारले अन्यौल सिर्जना गरेको बताएका हुन्।
‘नक्कली शरणार्थी प्रकरण’मा नाम जोडिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्। तर, नक्कली शरणार्थी प्रकरणबारे भने विज्ञप्तिमा स्पष्ट उल्लेख गरेका छैनन्। ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ।’
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा खाणको पनि नाम मुछिएको छ। प्रहरी हिरासतमा रहेका टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत नाम लिएका छन्। पाण्डेलाई आफू गृहमन्त्री हुँदा खाणले नै गृहसचिव बनाएका थिए।