काठमाडौं- यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेको छ। गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा २७ सय रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ थियो। जुन, निरन्तर बढ्दै १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो साताको शुक्रबार भने सुनचाँदीको कारोबार भएको थिएन।
यो साताको आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो। सोमबार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः २०० रुपैयाँले घटेको थियो। तर, बुधबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले र बिहीबार पुनः १२ सय रुपैयाँले उकालो लागेको थियो।
यस्तै, यो साता तेजाबी सुनको मूल्य समेत तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ। यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले उकालो लागेको छ। गत साताको शुक्रबार १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ पुगेको छ।