कस्तो रहला आज देशभरको मौसम? - Chaitanya News
  • 2026-06-22
  • 15:21:10
  • सोमबार,आषाढ ०८, २०८३
  • काठमाडौं- देशका पहाडी भूभागमा आज बिहान बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    कोसी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बदली र वर्षाको सम्भावना रहे पनि हिजोअस्तिको तुलनामा कम रहेको मौसमविद् सजिना शाक्य बताउँछिन्। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

    यस्तै केही दिनदेखि निरन्तर पानी परिरहेको काठमाडौंमा आज केही दिनको तुलनामा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    बिहान हुस्सु देखिए पनि दिउँसो घाम लागेसँगै हुस्सु हट्दै जाने महाशाखाको भनाइ छ। दिउँसो काठमाडौंको आकासमा केही बादल भने देखिने महाशाखाले जनाएको छ। दिउँसो वर्षाको सम्भावना भने न्यून छ।