काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हो।
सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ।
भट्टराईको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारको भनाइ छ।
उनले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराई र आमा इन्दिरा भट्टराईको नाममा राखिएको पाइएको अख्तियारको दावी छ।