भीमेश्वर नगरमा नियम विपरित ८० कर्मचारी करारमा राखियो - Chaitanya News
  • 2026-06-22
  • 13:08:54
  • सोमबार,आषाढ ०८, २०८३
  • भीमेश्वर नगरमा नियम विपरित ८० कर्मचारी करारमा राखियो

    भीमेश्वर नगरमा नियम विपरित ८० कर्मचारी करारमा राखियो

    काठमाडौं- दोलखाको भीमेश्वर नगरपालिकामा दरबन्दीको संगठन संरचना बिनै ८० जना करार कर्मचारी भर्ना गरिएको छ।

    संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहलाई करारमा कर्मचारी भर्ना नगर्न पटक-पटक निर्देशन दिँदै आए पनि नगरमा प्रक्रिया नपुर्‍याई २०७४ यता ८० जना कर्मचारी करारमा भर्ना गरेको भेटिएको हो। यो नगरका कुल कर्मचारी मध्येको ५३ प्रतिशत हो।

    भर्ना गरिएका करारका कर्मचारीमा प्राविधिक, चालक, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, नगर प्रहरी लगायत छन्। करार मध्ये अधिकांश राजनीतिक आडमा एकपक्षीय ढंगले नियुक्ती गरिएकाहरू छन्। ती मध्ये केही ठाडो नियुक्तिमा जोडिएकाहरु समेत छन्। करार कर्मचारी मध्ये सबैभन्दा धेरै प्राविधिक छन्।

    नगरपालिकामा हाल कुल १ सय ५२ जना कर्मचारी कार्यरत छन्। ती मध्ये स्वास्थ्य तर्फ संघीय सरकारका स्थायी कर्मचारी ३१ जना, कार्यालय प्रमुख सहित स्थायी प्रकृतिका ४१ जना र करारमा भर्ना गरिएका ८० जना कर्मचारी कार्यरत छन्। संघीय सरकारको स्थायी दरबन्दीको तलब संघीय सरकारले र नगर भित्रका प्रमुख प्रशासकीय अधिकृतसहितका स्थायी कर्मचारीको तलब संघीय साथै प्रदेश राजस्व बाँडफाडबाट खुवाइँदै आएको छ। करारका ८० जना कर्मचारीको तलब भने नगरको आन्तरिक आम्दानी र परियोजनाबाट खुवाउँदै आएको छ।