काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन् । प्रधानमन्त्री प्रचण्डले शुभकामना तथा बधाइ दिँदै यूएईविरुद्ध शानदार जित निकालेको नेपाली टोलीलाई बधाइ दिएका हुन् ।
एसीसी प्रिमियर कप जित्नु अर्को ठूल सफलता भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।’ प्रधानमन्त्रीले विजेता खेलाडीहरूलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
गुल्शन झाको अर्धशतकप्रेरित नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकालेको हो ।
टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय १७ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.३ ओभरमा मात्रै तीन विकेट गुमाएर एक सय १८ रनसहित लक्ष्य पूरा गर्दै एसिया कपमा छनोट भएको हो ।