कर्मचारी असुरक्षीत भएको भन्दै गृहलाई सामान्य प्रशासनले पठायो पत्र - Chaitanya News
  • 2026-05-27
  • 01:26:59
  • मंगलबार,जेठ १२, २०८३
  • कर्मचारी असुरक्षीत भएको भन्दै गृहलाई सामान्य प्रशासनले पठायो पत्र

    कर्मचारी असुरक्षीत भएको भन्दै गृहलाई सामान्य प्रशासनले पठायो पत्र

    काठमाडौं- कर्मचारीमाथि विभिन्न पक्षबाट सांघातिक हमला तथा कुटपिट हुने गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीनै तहका कर्मचारीलाई सुरक्षा प्रत्याभूति गराउँदै शान्तिपूर्ण कार्य वातावरण निर्माण गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

    विशेष गरी स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात हुने गरेका घटना पछिल्लो समय बढ्दै गएको भन्दै मन्त्रालयले पत्राचार गरेको हो।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गरेको मन्त्रालयका प्रवक्ता एवम सहसचिव कमल भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए।

    उनका अनुसार जनप्रतिनिधिबाटैसमेत आक्रमण हुन थालेपछि कर्मचारीमा भय, त्रास र तनावयुक्त कार्य वातावरण उत्पन्न भएको पाइएको भन्दै त्यस्ता घटनामा संलग्न व्यक्ति, समूह तथा पक्षलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्नसमेत पत्राचार गरिएको हो।

    ‘संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई विभिन्न पक्षबाट सांघातिक हमला र कुटपिट हुने गरेको विभिन्न सञ्चार माध्यम र सम्बन्धित कर्मचारीबाट जानकारी हुन आएको र त्यसबाट भय, त्रास र तनावयुक्त कार्य वातावरण उत्पन्न भएको पाइएकोले त्यस्ता घटनामा संलग्न व्यक्ति, समूह तथा पक्षलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने व्यवस्था गरिदिन हुन अनुरोध गरिन्छ।’

    गृह मन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ। पत्रमा थप भनिएको छ, ‘सुरक्षा संवेदनशीलता मनन गरी सबै कर्मचारीको सुरक्षा प्रत्याभूति तथा शान्तिपूर्ण कार्य वातावरण निर्माण गरिदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन हुन यस मन्त्रालयको २०८० वैशाख १७ को निर्णयानुशार अनुरोध छ।’