काठमाडौं- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताएका छन्। सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताए।
उनले सरुवा, बढुवा संगठनले चाहे अनुसार नै भइरहेको स्पष्ट पार्नुभयो। उहाँले सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरुलाई हटाइएको पनि बताए। उनले सीमा सुरक्षा गर्नु आफूहरुको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको उल्लेख गरे। महानिरीक्षक अर्यालले काममा डिजिटलाइजेशन गर्ने लक्ष्य राखिएको र सो का लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको जानकारी गराए।
‘सादा पोशाकमा हुने विकृति हटाएको हो। सादा पोशाकबाट गएर बार्गेनिङ गर्ने काम हुँदैन। त्यो प्रवृत्ति हटाएको हो। त्यस्तो राजनीतिक हस्तक्षेप कुनै पनि छैन। हामीले संगठनले चाहे अनुसारको सरुवा, बढुवा गरेका छौँ। प्राथमिकताका आधारमा सीमामा जनशक्ति राख्दै जान्छौँ। सुविधा पाउँदा मात्रै गर्छौं भन्ने होइन। सुविधा नपाउँदा टेन्ट टाँगेर पनि बसेर गर्नुपर्ने हुन्छ। त्यसैले हामी बिओपीलाई प्राथमिकता दिएर हामी यो काम गर्दै जान्छौँ। डिजिटलाइजेशन गर्ने हाम्रो मुख्य लक्ष्य छ। यसको लागि सरकारले पनि सहयोग गर्दै आएको छ। बजेटको सुनिश्चितता दिइसकेको छ,’ उनले भने।
उनले सशस्त्र प्रहरी बललाई आकर्षक सेवाको रुपमा स्थापित गर्ने उद्देश्यसहित अगाडि बढिरहेको बताए।