आठ वर्षपछि तातोपानी नाका दुईतर्फी सञ्चालनमा आयो - Chaitanya News
  • 2026-05-27
  • 00:09:13
  • मंगलबार,जेठ १२, २०८३
  • आठ वर्षपछि तातोपानी नाका दुईतर्फी सञ्चालनमा आयो

    आठ वर्षपछि तातोपानी नाका दुईतर्फी सञ्चालनमा आयो

    काठमाडौं- नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका आठ वर्षपछि दुईतर्फी सञ्चालनमा आएको छ।

    नेपाली उत्पादन चीन निर्यात गर्दै सोमबारदेखि नाका दुईतर्फी सञ्चालनमा आएको हो। बिहान सवा ८ बजेतिर तीन कन्टेर नेपाली सामाग्री चीनतर्फ पठाइएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानन्द केसीले बताए।

    उनका अनुसार म्याट्रेस, बेदको कुर्सी र मुढाले भरिएका एक÷एक कन्टेनर सामाग्री चीन निर्यात गरिएको हो । नेपाली सामाग्री बोकेर चीन प्रवेश गरेका सामाग्रीसहितका कन्टेनरलाई चिनियाँ अधिकारीले मितेरी पुलमा आतसवाजी गरेर भव्य स्वागत गरेका थिए। यसअघि नेपाली पक्षले निर्यात सामाग्री मितेरी पुल पु¥याएका थिए। त्यसपछि चिनियाँ पक्षले बुझेर उनीहरुले नै चीनतर्फ लगेका हुन्।

    ‘निर्यात व्यापार खुलेसँगै नाका दुईतर्फी सञ्चालनमा आयो। अब निरन्तर निर्यात व्यापार हुन्छ,’ प्रमुख भन्सार अधिकृत केसीले नागरिकसँग भने। उनले मंगलबार नाका भएर तीन कन्टेनर सामाग्री चीन जाने प्रक्रियामा रहेको जानकारी दिए।

    २०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि चार वर्ष बन्द यो नाका २०७६ जेठ १५ देखि एकतर्फी सञ्चालनमा आएको थियो। चीनले नेपालबाट हुने निर्यात व्यापार र मानवीय आवागमनमा भने रोक लगाउँदै आएको थियो। निर्यातसँगै दुईतर्फी व्यापार सञ्चालनमा आए पनि मानवीय आवागमन भने अझै खुला नभएको केसीले जानकारी दिए।

    ‘मानवीय आवागमनसहित नाका पूर्ण सञ्चालनमा ल्याउनेबारे चिनियाँ अधिकारीले पछि संयूक्त बैठक बसेर निर्यण लिने बताएका छन्,’ उनले भने। गत महिना ल्हासामा नेपाल–चीनका वाणिज्य अधिकारीबीच भएको सहमतिअनुसार तातोपानीबाट दुईतर्फी व्यापार सञ्चालनमा आएको हो। सहमतिअनुसार उत्तरको अर्को महत्वपूर्ण नाका रसुवागढी दुईतर्फी सञ्चालनमा आइसकेको छ। यो नाकाबाट मानवीय आवागमनसमेत खुलाइएको छ।