काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमणको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यको संलग्नता रहेको आरोप लगाएका छन्।
पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लामा आफूमाथि आक्रमण प्रयासका घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको पनि आरोप लगाए।
उनले भने, ‘हिजो, अस्ति हामी तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा हामीले कार्यक्रम गरेका थियौं। तपाईहरुले अलिअलि सुन्नु पनि भएको होला। कार्यक्रममा जाँदै गर्दाखरी बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरु, अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरु गरे। यसको संलग्नता विभिन्नतिर देखिएको छ। ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ। यो अनेकमार्फत् देखिएको छ।’ सत्तामा हुने पार्टीका कार्यकर्ताहरु पनि अर्काको नाममा ढुंगा हान्न गएका ओलीले बताए।
ओलीले हरेक ठाउँमा एउटै समूहका २० जनाजति मानिस आफूमाथि आक्रमण प्रयासमा आएको बताए। सरकारले मुखले जे भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै उनले आपत्ति जनाए।
आफूहरुमाथि गाली बेइज्जती, अश्लिल शब्दको वर्षा गर्दा पनि नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको ओलीले बताए।
‘हाम्राविरुद्ध अश्लिल, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरु यिनका मुखबाट भएको छ। त्यो म आफैंले देखेर, भोगेर आएको छु। हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहिँ ढुंगा हान्ने, कहिँ भिडन्त गर्न आउने। त्यसप्रकार उनीहरुले अनेक ठाउँमा आक्रमण गरे। त्यो खालको उदण्डता र सरकार मुकदर्शक’ उनले भने।
ओलीले फटाहा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी समेत गरे। ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ, स्वार्थी फटाहाले कि मुर्खले मान्छ’ ओलीले भने, ‘‘एकथरी अज्ञानी हुन्छन् । बिचरा केही पनि बुझदैनन्।’