मिटरब्याजीको पक्षमा भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-06-22
  • 08:43:50
  • सोमबार,आषाढ ०८, २०८३
  • मिटरब्याजीको पक्षमा भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    मिटरब्याजीको पक्षमा भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं-   उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताएका हुन् ।

    ‘पीडक पीडक नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार चिन्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजीहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ ।’ धनुषा जिल्ला हुलाक कार्यालयको निर्मित भवनमा स्थापना गरिएको आयोगको कार्यालयको एक समारोहबीच आज गृहमन्त्री श्रेष्ठले उद्घाटन गरेका हुन् ।

    मुख्यतः मधेसमा गरिब विपन्न तथा सर्वसारधारणहरु मिटरब्जायी साहुको आतंकमा परेपछि पैदल हिडेर काठामाडौं गएर कठोर रूपमा आन्दोलन गरेपछि सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो । गठन गरिएको आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ ।

    आयोगको अध्यक्षमा पूर्व न्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरूमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबहादुर अर्याल रहेका छन् । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूसँग उजुरी आह्वान पनि आव्हान गरिसकेको छ । पीडितहरू ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछ ।

    उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । जहाँ कर्मचारीले नै निवेदन फारम भराइदिने छ । आयोगले उजुरी दिन १७ देखि ३१ वैशाखसम्म समय तोकेको छ ।