काठमाडौं- भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्।
भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत उनी आइतबार दिउँसो २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको डा. भण्डारीनिकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ।
पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्।