काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेको पहिलो दिन नै संसदमा सहभागीता जनाउँदै सम्बोधन गरेका छन्।
गत बैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट भारी मतसहित डा. वाग्लेले जित हासिल गरेका थिए। उनले आजै बिहान सभामुख देवराज घिमिरेसँग रास्वपाका सभापति एवं चितवन २ बाट निर्वाचित रवि लामिछानेले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए।
डा. वाग्लेले प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रका लागि लडेका अग्रजसँगै ज्ञातअज्ञात शहीदलाई स्मरण र सम्मान गरेका छन्।
त्यस्तै उनले संसदमा आफूलाई जिताउने मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले मतदाताको स्नेह, विश्वास र भरोसालाई डगमगाउन नदिने दृढता पनि ब्यक्त गरेका छन्।
त्यस्तै उनले पृथ्वी लोकमार्गको विस्तार गर्ने क्रममा स्थानीयको दैनिकी कष्टकर भएको र स्वास्थ्यमा असर परेकोसमेत उल्लेख गर्दै सडक विस्तारका क्रममा ऐतिहासिक र पूरातात्विक महत्वका संरचनाको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
यसो भने स्वर्णिमले पहिलो सम्बोधनमा
आज मात्रै शपथ लिएको नवनिर्वाचित सांसदको रुपमा बोल्दै गर्दा सर्वप्रथम नेपालमा लोकतान्त्रिक हक अधिकार र स्वतन्त्रताका लागि लड्नु भएका हजारौं अग्रजहरु र ज्ञात अज्ञात शहीदको स्मरण र सम्मान गर्न चाहन्छु। हालै सम्पन्न निर्वाचनमा मलाई भारी मत र मतान्तरहित विजयी बनाएर प्रतिनिधि सभा पठाउनु भएका तनहुँ क्षेत्र नम्बर १ का आदरणीय मतदाताहरुप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँहरुको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन। सभामुख महोदय तनहुँ जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्गको विस्तार भइरहेको छ। यो आवश्यक छ। तर यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा पनि ल्याएको छ। जनस्वास्थ्यका दृष्टिले धुलाम्य सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवा लगायतका ऐतिहासिक र पूरातात्विक महत्वका संरचनाहरुको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु। धन्यवाद!