काठमाडौँ– चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरू संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिएका छन्। बुधवार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरू काटेर मात्रै प्रसारण गर्न भन्दै चलचित्र प्रसारणमा रोक लगाएको बताएका हुन्।
उनले भने, ‘सेन्सर सर्टिफिकेट नउठाएको काँडेतारले पायो, कसैले त्यत्तिकै फण्डा गरिरहेको छ भन्ने किसिमको कुरा यहाँ आएपछि मैले सुनेँ, सेन्सर सर्टिफिकेट मैले पाएको छैन, सेन्सर बोर्डले सधैँको लागि चलचित्रलाई ब्यान गरेको पनि होइन। त्यहाँ केही संवाद र दृश्यहरू सुधारेर ल्याउन सुझाव दिनुभएको छ । मैले पनि कुनै पनि दृश्यहरू नकाटीकन दर्शकसँग लैजान पाउँ भनेर अपिल गरेको छु, सेन्सर बोर्डले यो अनुरोध सुनेन भने त्यसको लागि न्यायालय, अदालत छ।