दृष्टिविहीन महिला क्रिकेट : नेपाल भारतसँग ९ विकेटले पराजित - Chaitanya News
  • 2026-06-06
  • 07:16:02
  • शनिबार,जेठ २३, २०८३
  • दृष्टिविहीन महिला क्रिकेट : नेपाल भारतसँग ९ विकेटले पराजित

    दृष्टिविहीन महिला क्रिकेट : नेपाल भारतसँग ९ विकेटले पराजित

    काठमाडौं– नेपाल र भारतबीचको महिला दृष्टिविहीन टी– २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ।

    योसँगै पाँच खेलको सिरिजमा भारतले १–१ को बराबरी गरेको छ। पहिलो खेल नेपालले ८ विकेटले जितेको थियो।

    बुधबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर १७२ रन बनाएको थियो ।

    १७३ रनको लक्ष्य भारतले १४.३ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि सिमु दासले सर्वाधिक ६६ र फुला सरेनले ६५ रन बनाए। दुवै अविजित रहे।

    सिमुले २७ बल खेल्द ४ चौका मदतमा ६६ रन बनाइन्। यस्तै फुलाले ४३ बल खेल्दै ५ चौका मदतमा ६५ रन बनाइन्।

    ओपनर गंगा २२ रन बनाएर आउट भइन्। उनलाई नेपालकी विनिता पुन र विकेटकिपर गीता पौडेलले रन आउट गरेका थिए।

    पहिलो खेलमा विनिता पुनको ऐतिहासिक शतकमा जित हात पारेको नेपालका लागि दोस्रो खेलमा सरिता घिमिरेले अर्धशतक प्रहार गरिन्।

    सरिताले ४४ बलमा ३ चौका प्रहार गर्दै ५६ रन बनाएपछि नेपालले राम्रो स्कोर बनाएको थियो। बिमला राईले २९, विनिता पुनले १८, मुना अर्याल र माया लुंगेलीले समान १४ रन बनाए भने रिता थापा १० रनमा अविजित रहिन्।

    भारतका लागि फुला सरेन, गंगा र कप्तान सुस्मा पटेले समान १ विकेट लिए। नेपालका सात खेलाडी रनआउट भएका थिए।

    सिरिज अन्तर्गत तेस्रो, चौथो र पाँचौ खेल काठमाडौंको मुलपानी मैदानमा हुनेछ।