काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा मलेसियाले कतारलाई तीन विकेटले पराजित गरेको छ।
नेपालमा जारी एसीसी प्रिमियर कपमा मलेसियाले कतारविरुद्ध रोमाञ्चक जित निकालेको हो। तर यी दुवै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन्। २१६ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.१ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
मलेसियाका लागि सियद अजिजले ६६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ८० रन बनाए। त्यस्तै, अहमद फैजले ३३, खिजार हायतले अविजित २५ र मोहम्मद सियहादतले २२ रन बनाए। बलिङतर्फ कतारका मोहम्मद नदिम र इक्रमउल्लाह खानले समान २–२ विकेट लिए।
मैदान चिसो भएको कारण खेल ३५ ओभरमा छोट्याइएको थियो। मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कतारले ३५ ओभरमा आठ विकेटको क्षतिमा २१५ रन बनाएको थियो। कतारका लागि इमाल लियनागले ५६, खुर्राम शाहजादले ४१, इक्रमउल्लाह खानले ३९ र मोहम्मद तान्विरले २६ रन बनाएका थिए। बलिङतर्फ मलेसियाका रिजवान हैदर र मोहम्मद वाफिकले समान २–२ विकेट लिए।
समूह ‘ए’ बाट मलेसियाले चार खेलबाट दुई खेलमा जित र दुई खेलमा हारसहित चार अंक बनायो। यता, कतारले भने यो लगातार तेस्रो हार ब्यहोरेको हो। अब कतारले आफ्नो अन्तिम खेलमा बिहीबार नेपालसँग खेल्दैछ।
यो समूहबाट नेपाल यसअघि नै पाँच अंक बनाएर सेमिफाइनलमा पुगिसकेको छ। आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई पराजित गरे समूह विजेता बन्नेछ। साउदी अरब र ओमानबीचको खेल भोलि (बुधबार) टीयू क्रिकेट मैदानमा हुँदैछ। यी दुई टिमबीचको विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछ।