काठमाडौं– देशैभर सञ्चालनमा रहेका एम्बुलेन्स सेवालाई अब एकीकृत प्रणालीमा आवद्ध गरिने भएको छ। सो प्रयोजनका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ। समितिले तीन महिना भित्र यो प्रणाली कार्यान्वयनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी पाएको छ।
समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी व्यवस्था गरिएको छ।
देशभर छरिएर रहेका एम्बुलेन्स सेवाको एकीकृत प्रणालीमा आवद्ध हुन नसक्दा सेवा प्रभावकारी नभएको भन्दै सरकारले देशभरका सबै निकाय र संस्थाबाट सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रणालीमा आवद्ध गराउने निर्णय गरेको हो।