काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विकास परियोजनाहरुको कामलाई बेवारिसे बनाउने, समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौंता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको बताएका हुन्।
मन्त्री ज्वालाले विकास आयोजनाहरुको कामलाई अस्तव्यस्त बनाउने अवस्थाबाट मुक्त गराउन आफूले सम्बन्धित पक्षलाई सचेत गराएको पनि संसदलाई जानकारी गराए।
उनले भने, ‘समयमा काम गर्नुपर्ने र त्यो पनि गुणस्तरीय काम गर्न निम्ति हामीले जुन खालको निर्देशन दिएका छौँ, जुन किसिमले प्रयास गरेका छौँ, यसमा कहीँकतै सम्प्रमाइज हुँदैन। र, समयमा काम सम्पन्न नगर्ने, ठेक्का लिने र ती ठेक्काहरु अस्तव्यस्त बनाउने, बेवारिसे बनाउने खालको अवस्थाबाट ती योजनाहरुलाई मुक्त गराउनका निम्ति ती ठेक्का तोड्नका निम्ति पनि हामी तयार छौँ।’
मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइएको पनि बताए।