काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतको आदेश काठमाडौं महानगरपालिकाले मात्र नभइ संघीय सरकारले पनि पालना गर्नुपर्ने बताएका छन्।
सोमबार फेसबुकमा स्टाटस लेख्दै बालेनले सिंहदरबारको फोहोर उठाउने सम्बन्धमा सर्वोच्चले गरेको फैसलाको सम्मान गर्ने तर आदेशको पालना महानगरले मात्र नभइ संघीय सरकारदेखि सबैले पालना गर्नुपर्ने बताएका हुन्।
सर्वोच्चको आदेश प्राप्त भएको बताउँदै बालेनले सर्वोच्चले यसअघि गरेका फेसलाहरू संघीय सरकारले पालना नगर्नुको कारण सोधेका छन्।
उनले बागमती, विष्णुमती र मनोहरा तथा सहायक नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरू भत्काएर नदीको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्नेसम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउन २०५७ असार ९ गतेको सर्वोच्च अदालतले दिएको आदेश पनि परिपालना गर्नुपर्ने बताएका छन्।
तीन कुने जग्गा अधिग्रहण तथा मुअब्जासम्बन्धी दुई दशक अगाडिको सर्वोच्च अदालतको आदेशलगायत आम महानगरबासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरूको पालना नभएको विषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरूरी छ। अन्यथा, नागरिकको घरआँगन र सिंहदरबारको पटाङ्गिनीबीचको विभेदलाई वैधानिक रूपमा नै स्वीकारेको अर्थ लाग्ने देखिन्छ उनले लेखेका छन्।
यस्तै, सिंहदरबारको फोहोरमैला नउठेको विषय अदालतमा प्रवेश गर्नु र फोहोरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता भएको थप पुष्टि भएको बालेनले बताएका छन्।
बालेनले सर्वोच्चको आदेश पालना गर्न दृढ भएको बताएका छन्।