सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा बजेट कार्यान्वयनको लागि चाहिने आवश्यक कर्मचारीको कमी रहेको बताएका छन्। जसका कारण विकास बजेट कार्यान्वयनमा समस्या भएको उनको भनाई थियो। आज जुम्लामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेट मात्र भएर नहुने, त्यसका लागि आवश्यक कर्मचारी पनि हुनुपर्ने तर्क राखे। कर्णालीमा बजेटलाई सदुपयोग गर्ने आवश्यक कर्मचारी नभएको शर्माको भनाइ छ। जसका कारण बजेटलाई कार्यान्वयन गर्न सकिरहेको छैन।
शर्माले राजनीतिक रुपमा संघीयता आएपनि वित्तीय रुपमा अझै संघीयता ठिक तरिकाले लागु हुन नसकेको बताएका छन्। ‘राज्य बढी प्रक्रियामुखी छ, वित्तीय संघीयता ठिक तरिकाले लागु हुन सकिएको छैन,’ मुख्यमन्त्री शर्माले भने,‘ कर्णाली सुनको डल्लो हो, यसलाई प्रयोगमा ल्याउनुपर्ने चुनौती हामीसँग छ तर, कठिनाईहरु पनि थुप्रै छन्।
राष्ट्रिय राजनीतिक उथुलपुथलका कारण कहिले दायाँ कहिले बायाँ गर्नुपर्ने वाध्यता प्रदेशमा रहेको उनले बताएका छन। बारम्बार हुने सत्ता गठबन्धन फेरबदलले त्यस्तो अबस्था निम्त्याएको आशय समेत व्यक्त गरे।