रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतसमक्ष उजुरी - Chaitanya News
  • 2026-07-04
  • 13:01:52
  • शनिबार,आषाढ २०, २०८३
  • रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतसमक्ष उजुरी

    रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतसमक्ष उजुरी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले कारबाही गर्न भन्दै चितवन निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतसमक्ष उजुरी परेको छ।

    नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका तर्फबाट निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले उजुरी दिएका हुन्।

    निर्वाचन प्रक्रिया सूचारु भइरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट लामिछानेले मत मागेको अडियोरभिडियो सार्वजनिक भएको भन्दै कारबाहीका लागि माग गरिएको छ।

    लामिछानेले विभिन्न मतदान स्थलमा हुल हुज्जत गर्नेरगराउने गरी मतदातालाई प्रभावित पारेको समेत आरोप लगाइएको छ।

    विभिन्न मतदान स्थलमा प्रमुख जिल्ला अधिकारीको ठाडो निर्देशनमा सुरक्षाकर्मीद्वारा एक पक्षीय ढंगबाट मतदाता र मतदान प्रतिनिधिहरूमाथि लाठी चार्ज गर्ने र मतदातालाई भयभित गर्ने गराउने काम गरिएको उजुरीमा उल्लेख छ।

    त्यसैगरी नयाँ किरण मावि भोजाड मतदान स्थलमा असहज परिस्थिति सिर्जना भएकाले मतदान स्थगित भएपछि बसेको मतदान अधिकृत र सम्बन्धित राजनीतिक दल रास्वपाका प्रतिनिधिहरू समेतको संयुक्त बैठकले रास्वपा र उसका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गर्दै तत् सम्बन्धी कारबाहीका लागि सिफारिश गर्ने निर्णय गरिएको समेत उजुरीमा उल्लेख छ।