काठमाडौँ – काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा ओमानले पहिलो जित निकालेको छ। समूह ए अन्तर्गत मुलपानी मैदानमा भएको आफ्नो दोस्रो खेलमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको हो।
ओमान विरुद्व टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो। जवाफमा ओमानले २ सय २८ रनको लक्ष्य ५० बल बाँकी हुँदा २ विकेट गुमाएर पूरा गर्यो। मलेसियाका लागि भिरनदीप सिंहको ९४ रन तथा महम्मद स्याहदतको ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
२ सय २८ रनको लक्ष्य पछ्याएको ओमानले ओपनर जतिन्द्र सिंहको १०१ रनको अविजित शतकीय इनिङमा पहिलो जित निकाल्यो। उसका लागि काश्यप प्रजापतीले ६६ तथा कप्तान जेशन मसुदले ५२ रनको इनिङ खेलेका थिए। जारी प्रतियोगितामा ओमानको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा ओमान नेपालसँग पराजित भएको थियो। मलेसियाको भने यो पहिलो हार हो। यसअघि आफ्नो पहिलो खेलमा मलेसियाले साउदीअरेबियालाई पराजित गरेको थियो।