चितवन क्षेत्र नं.२ का दुई केन्द्रमा रोकियो मतदान - Chaitanya News
  • 2026-07-04
  • 11:19:02
  • शनिबार,आषाढ २०, २०८३
  • चितवन क्षेत्र नं.२ का दुई केन्द्रमा रोकियो मतदान

    चितवन क्षेत्र नं.२ का दुई केन्द्रमा रोकियो मतदान

    चितवन– चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ। भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो।

    भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ। कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ।

    भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो।

    रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए। मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो।

    सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो। प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो। त्यसक्रममा भागाभाग भएको थियो। तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो भने विद्यालयको मूल गेट बन्द गरिएको छ। अहिले अवस्था सामान्य छ तर मतदान सुरु भइसकेको छैन।

    कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो।

    चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।