आज कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस : एमालेले विविध कार्यक्रम साथ मनाउँदै - Chaitanya News
  • 2026-06-21
  • 19:35:25
  • आइतबार,आषाढ ०७, २०८३
  • आज कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस : एमालेले विविध कार्यक्रम साथ मनाउँदै

    आज कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस : एमालेले विविध कार्यक्रम साथ मनाउँदै

    काठमाडौं – आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७५ औं स्थापना दिवस । ७५ वर्षअघि २००६ साल वैशाख ९ गते अर्थात् आजकै दिन भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

    पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगाएतका नेताहरु पनि जोडिएका थिए ।

    नेपालमा जहानियाँ राणा शासन रहेको बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।

    नेपालका कम्युनिष्ट पार्टीहरुले आज विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै छन् । स्थापना दिवसको अवसरमा आज (नेकपा एमाले) ले भव्य कार्यक्रमको आयोजना गरेको छ । एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो । कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने एमालेले जनाएको छ । कार्यक्रममा पार्टी प्रवेश कार्यक्रम समेत रहेको बताइएको छ ।

    यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिष्ट पार्टीहरुले पनि छुट्टाछुट्टै विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने तयारी गरेका छन् ।