पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जाँदाजाँदै सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम भए पनि मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक नगरेकोप्रति प्रश्न उठेपछि मुख्यमन्त्री अधिकारीले शुक्रबार विवरण सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका हुन्।
पोखरा–३१ बेगनासमा जन्मिएका मुख्यमन्त्री अधिकारीको पुख्र्यौली घरजग्गा, बैंक ब्यालेन्स, गाडीसहित कृषिमा पनि लगानी गरेको देखिएको छ। मुख्यमन्त्री अधिकारीसँग पोखरा–१२ शान्ति टोलमा ८० लाख किनेको अहिले २ करोड रुपैयाँ पर्ने ६ आना जग्गामा घर छ।
मुख्यमन्त्री अधिकारीको श्रीमतीको नाममा जग्गा, रिसोर्ट भएको देखिएको छ। मुख्यमन्त्री अधिकारीको पुख्र्यौली जन्मस्थान बेगनासमा रहेको जग्गा रहेको बताएका छन्। अंशबण्डाबा प्राप्त भएको खुलाएका अधिकारीले कित्ता र क्षेत्रफल अलमल हुने गरी पेश गरेका छन्।
पोखरा–२१ मा देखाएको जग्गा वर्गमिटरमा पेश गरेका छन्। मालमोत कार्यालयका एक अधिकृतका अनुसार मुख्यमन्त्रीले पेश गरेको तथ्यांकले एकीन क्षेत्रफल नआउने बताए। मुख्यमन्त्रीले कित्तासमेत खुलाएका छैनन्।
मुख्यमन्त्री खगराजले स्वआर्जनका रुपमा १५ लाख रुपैयाँ देखाएका छन् भने अंशबण्डाबाट ३ तोला सुन रहेको बताएका छन्। विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख रुपैयाँ मौज्दात देखाएका छन्। कृषि आन्दानीबाट गण्डकी विकास बैंकमा २ लाख ४९ हजार ७ बराबरको सेयर देखाएका छन्।
मुख्यमन्त्री अधिकारीले विभिन्न व्यक्तिसँग ३५ लाख ऋण लिएर १० लाख रुपैयाँ तिरेको बताएका छन्। खगराजसँग ५० लाख रुपैयाँको स्कोरपियो छ। आइ ट्वान्टी कार आफ्नै स्वकीय सचिव केदार थपलियालाई बेचेर स्कोरपियो किनेको मुख्यमन्त्री अधिकारीले खुलाएका छन्।
मुख्यमन्त्री अधिकारीले कृषि फसल बिक्री गरेरमात्रै वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने बताएका छन्। मुख्यमन्त्री अधिकारी पत्नी पाण्डेले काठमाडौंको चन्द्रागिरीमा प्रमुख बैंकबाट ८० लाख रुपैयाँ ऋण लिएर घडेरी खरिद गरेको अधिकारीले विवरणमा खुलाएका छन्। अग्रगामी कृषि फर्ममा साढे १६ लाख श्रीमती पाण्डेको नाममा छ। चितवन फिस रिसोर्टमा २० लगानी गरेको मुख्यमन्त्री अधिकारीले बताएका छन्।
अधिकारीले श्रीमती रमा पाण्डेप्रावि दरबन्दीको शिक्षक भएका बताएका छन्। मुख्यमन्त्री अधिकारीले सम्पत्ति वितरण सार्वजनिक गरे पनि अरु मन्त्रीहरले पनि अझै गरेका छैनन्। मुख्यमन्त्री अधिकारीले ९ गते विश्वासको मत लिँदै छन्। गत चैत १० गते माओवादीले सरकारबाट समर्थन फिर्ता दिँदै मन्त्री हरिबहादुर चुमान र रेमशबहादुर जुग्जालीले राजीनामा दिएका छन्।
सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री अधिकारीले २९ औं दिनमा संसदमा विश्वासको मत लिन अधिवेशन डाकिएको छ। मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था छैन। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सदस्यीय कांग्रेस र माओवादीको ७ सदस्य (सभामुखबाहेक) मिलेर सरकार बनाउन बहुमत पुग्छ।
अहिले खगराज नेतृत्वको सरकारमा २ सदस्यीय राप्रपा पनि छ। खगराज सरकार ढलेसँगै कांग्रेसका सुरेन्द्रराज मुख्यमन्त्री बन्ने तयारी गरिरहेका छन्।