कमला नदीमा पहिलोपटक दुई जिल्ला जोडने झुलुंगे पुल निर्माण हुँदै - Chaitanya News
  • 2026-11-12
  • 21:58:03
  • बिहिबार,कार्तिक २७, २०८३
  • कमला नदीमा पहिलोपटक दुई जिल्ला जोडने झुलुंगे पुल निर्माण हुँदै

    कमला नदीमा पहिलोपटक दुई जिल्ला जोडने झुलुंगे पुल निर्माण हुँदै

    काठमाडौं– पूर्व पश्चिम राजमार्गको दक्षिण भेगमा पहिलोपटक झुलुंगे पुलको निर्माण हुन थालेपछि त्यस भेगका दर्जनौ गाउँका बासिन्दाहरु हर्षित भएका छन्।

    धनुषा र सिरहा जिल्लालाई जोडने कमला नदीमा निर्माणाधीन झुलुंगे पुलको काम ५५ प्रतिशत सम्पन्न भएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामबाट करिव ५० किलोमिटर पूर्वमा रहेको कमला नदीको झुलुंगे पुलको कुल लागत भ्याटबाहेक २८ करोड रहेको छ।

    पुलको पूर्वमा सिरहा नगरपालिका वडा न. १३ देखि पश्चिममा धनुषाको जनक नन्दनी गाउँपालिकाको वडा नम्बर ६ कठाललाई जोड्ने उक्त पुलको लम्बाई १५ सय १ मिटर र चौडाई ४ मिटर रहेको छ। १८ वटा पिलरमा अडिने सो पुलको निर्माण सम्पन्न भएपछि साना सावारी साधन र मानिसलाई आवतजावतमा सहज हुने स्थानीय वीरेन्द्र यादवले जनाएको छ। उक्त पुलको निर्माण ठेक्का थामी निर्माण सेवा काठमाडौंले लिएको छ।

    सो पुल निर्माण भएपछि दुवै जिल्लाको हजारौ बासिन्दालाई आवतजावतमा सहज हुने भोलेन्टिर इन्जिनियर बिनोद मण्डलले बताए। २०७६ असार महिनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सो पुल निर्माण प्रक्रिया सुरु भएको थियो। बाढीको समयमा कमला नदीमा अत्यधिक पानीको बहावको कारण मानिसलाई आवतजावतमा समस्या हुने भएकोले सो पुल निर्माण भएपछि उक्त समस्या हटेर जाने र दुवै जिल्लाका वासिन्दाहरु बताउँछन्।