एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, ओमान ८४ रनले पराजित - Chaitanya News
  • 2026-06-06
  • 07:15:44
  • शनिबार,जेठ २३, २०८३
  • एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, ओमान ८४ रनले पराजित

    एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, ओमान ८४ रनले पराजित

    काठमाडौं– प्रिमियर कप एक दिवसीय क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो। पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो। ३११ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको ओमानको टिम ४६.३ ओभरमा सवै विकेट गुमाएर २२६ रनमा रोकिन पुग्यो। जितसँगै नेपाल समूह ए मा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा छ। यो सँगै नेपाल सेमिफाइनल नजिक पनि पुगेको छ।

    नेपाललाई जित दिलाउने क्रममा सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट हात पारे। ओमानका मोहम्मद नदिमले ६५ रनको अर्धशतकीय पारि खेल्दा सन्दीप गौड ४६ रनमा आउट भए। यसैगरी आयान खानले २९ र कश्यप प्रजापतीले २५ रनको योगदान गरे।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरका ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो। नेपालले अहिलेसम्म कै विशाल रन बनाएको हो। अहिलेसम्म नेपालले विपक्षीलाई सर्वाधिक २९७ रनको लक्ष्य दिएको थियो। नेपालले मार्च ९, २०२३ मा त्रिवि क्रिकेट मैदानमा पीएनजीलाई २०९८ रनको लक्ष्य दिएको थियो।

    आइसीसीबाट एक दिवसीय मान्यता पाएको खेलमा नेपालका दुवै ओपनरले खाता नै खोल्न सकेनन्। नेपालले रनको खाता नखोल्दै ओपनर गुमाएको पारीलार्ई युवा खेलाडी कुशल मल्लले सम्हालेका थिए। उनले नेपालका लागि १०८ रनको शतकीय पारी खेलेका छन्। उनले ६४ बलमा १० नौ चौका र १० छक्का प्रहार गरेका थिए। खेलको ४१ औं ओभरको चौथो बलमा अकिव इलियासको बलमा आयान खानको हातबाट क्याच आउट भएका थिए।

    त्यस्तै नेपालका सोमपाल कामीले अर्धशतकीय पारी खेले। उनले ४८ बलमा नौ चौकाको मद्दतले अविजित ६३ रन बनाए। त्यस्तै करण केसीले १५ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित २९ रन बनाए।

    यस अघि खेलमा नेपालले रनको खाता २८औं बलमा खोलेको थियो। दुवै ओपनर आउट भएपछि आएका रोहित पौडेल र भिम सार्कीले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। उनीहरुको साझेदारीलाई ओमानका बलर फायाज बटले तोडेका थिए। खेलको १८ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल ब्यक्तिगत २३ रन बनाउँदै पविलियन फर्केका थिए। उनले दुई चौका प्रहार गरेका थिए। रोहितलाई फायाज बटले कश्यप प्रजापतिको हातबाट क्याचआउट गरेका थिए।

    त्यसपछि क्रिजमा जमेका अर्का ब्याट्सम्यान भिम सार्कीलाई नेपालले स्कोर ७२ हुँदा २१ औं ओभरमा गुमाएको थियो। २१ औं ओभरको तेस्रो बलमा भिम जिसन मक्सुदको बलमा विकेटकिपर अदिल सफिकले स्टम्पिङ गरेका थिए। भिम सार्कीले ५६ बलमा चार चौका र एक छक्काको मद्दतले ३३ रन जोडेका थिए।

    त्यसपछि नेपालले अर्का खेलाडी आरिफ शेखलाई खेलको ३२ औं ओभरमा गुमाएको थियो। आरिफ २९ बलमा दुई चौका प्रहार गर्दै २९ रन बनाएका थिए। आरिफलाई ओमानका लागि एक दिवसीयमा पहिलो पटक बलिङमा डेब्यु गरेका जतिन्दर सिंहले करिमउल्लाहको हातबाट क्याच आउट गरेका थिए। पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७३ रनको साझेदारी गरेका थिए।

    त्यसपछि नेपालका अर्का भरपर्दो ब्याट्सम्यानका रुपमा चिनिएको दिपेन्द्र सिंह ऐरी सात रन बनाउँदै आउट भएका थिए। उनले १२ बलमा ७ रन जोड्दा आयान खानले आउट गरेका हुन्। दिपेन्द्र आउट हुँदा नेपालको स्कोर १७२ रन थियो।

    नेपालको स्कोर २२१ रन हुँदा शतकीय पारी खेलेका कुशल मल्ल आउट भएका थिए। त्यसपछि ब्याटिङमा आएका सन्दिप लामिछाने ८ रन बनाउँदै खेलको ४५ औं ओभरको चौथो बलमा आयान खानको बलमा बैकल्पिक फिल्डरको रुपमा मैदानमा रहेका जय ओडेराको हातबाट क्याच आउट हुन पुगे।

    ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेटट लिँदा विलाल खान, कलिमउल्ला, फायाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक एक विकेट लिए।