काठमाडौं– अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्। न्यायाधीश श्रीकान्त पौडेल यमुना भट्टराईको इजलासले उनलाई पूर्ण सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ पुस १८ म सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
सेवामा प्रवेश गरेको २०४९ सालदेखि २०७५ सालसम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ रुपैयाँ हुने तर ढुंगानाले सोही अवधिमा गरेको खर्च तथा लगानी पाँच करोड ४८ लाख रुपैयाँ अस्वाभाविक देखिएको आयोगको दाबी थियो।
ढुंगानाले गरेको खर्च तथा लगानीमध्ये चार करोड ६८ लाख ४८ हजार रुपैयाँको स्रोत नखुलेको आयोगले आरोपपत्रमा उल्लेख गरेको थियो।
साथै ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी स्रोत नखुल्ने सम्पत्तिहरू आफूलगायत श्रीमती मधु कोइराला (ढुंगाना)को नाममासमेत खरिद गरी राखेकाले श्रीमती समेतलाई प्रतिवादी बनाएको थियो।
ढुंगानाविरुद्ध चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो । साथै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही सजाय गर्न माग रहेको थियो।