काठमाडौं- सरकारी कागज किर्ते गर्ने नापी प्रमुख, अधिकृतसहितका ८ जनाविरुद्ध अख्तिायारले मुद्दा दायर गरेको छ।
काठमाडौं विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गरी अख्तियारले उनीविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको हो।
‘अनुसन्धान हुँदा कित्ताकाट गर्दा अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने भ्रष्टाचारजन्य कसुरमा संलग्न प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’ अख्तियारले अदालतमा दायर गरेको मुद्दामा भनिएकाे छ।
अख्तियारले नापी कार्यालय चावाहिलका प्रमुख नापी अधिकृत दुर्गादास महर्जन, अधिकृत रविशंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादव विरूद्द मुद्दा दायर गरेकाे हाे। त्यस्तै, मुद्दा दायर हुनेमा मालपोत कार्यालय चावहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायब सुब्बा उत्तम कुँवरसहितका छन्।