बारा— प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्। बिहीबार दिउँसो बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै शिलान्यास गरिने बताएका हुन्।
उनले भने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं। म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ।
प्रधानमन्त्री दाहालले गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताए। कोभिडको बेला बन्द भएको नाका पुन: सञ्चालन गरिने र विद्युतीय प्रणालीमार्फत सिँचाईको व्यवस्था गरिने उनको भनाइ छ। ती विकासका कार्यहरु उपेन्द्र यादवको नेतृत्वमा गराउन सरकारले विशेष ध्यान दिने दाहालको भनाइ छ। यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।
प्रधानमन्त्री दाहालले पहिले नागरिकता विधेयक रोकिएकोतर्फ संकेत गर्दै अब नागरिकता समस्या समाधान गर्ने आश्वासन दिए। यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं,प्रधानमन्त्री दाहालले भने, ुनागरिकता समस्या मधेसको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।
सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा–२ का उम्मेदवार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गरेका थिए।