महागढीमाई– बारा–२ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन २० चैतको बिहानसम्म यहाँका नेकपा एमाले कार्यकर्ता अन्योलमै थिए।
सत्तारुढ पाँच दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने निकै पहिले निश्चित भएको थियो। तर गत मंसिरको चुनावमा जसपासँगै तालमेल गरेको एमाले नेतृत्वले कुनै निर्णय लिएको थिएन।
यहाँका कतिपय एमाले नेताहरुलाई उपेन्द्रलाई रोक्ने गरी कुनै दलसँग सहकार्य गर्ने कि आफ्नै उम्मेदवार खडा गर्ने भन्ने पत्तो थिएन। एमाले नेतृत्वले मनोनयन दर्ताको समय केही घण्टा बाँकी रहँदा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्यो।
अन्तिम समयमा पार्टी केन्द्रले पौडेललाई उम्मेदवार बनाएर एक्लै प्रतिस्पर्धामा उत्रने निर्णय गरेपछि भने यहाँका एमाले कार्यकर्ता लगातार चुनाव प्रचार अभियानमा जुटेका छन्। एमाले नेता रघुवीर महासेठ मनोनयन दर्तादेखि उम्मेदवार पौडेलका साथ छन्। अर्का नेता लालबाबु पण्डित चुनावी अभियानमै छन्। एक हप्ता अगाडि एमाले महासचिव शंकर पोखरेल र सचिव योगेश भट्राई यहाँ आएका थिए।
प्रचारप्रसारको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभालाई सम्बोधन गर्ने तयारी छ। त्यसको तयारीमा नेता तथा कार्यकर्ता केही दिन अगाडिबाटै परिचालित छन्।
अध्यक्ष ओली गत २२ चैतमा पनि यो क्षेत्रमा भएका केही कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए। फेरि ओली यो क्षेत्रमा आउनु अघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यहाँ आइपुगेका छन्। बुधबार बारा आएका पोखरेलले २०११ सालको किसान आन्दोलनमा शहीद बनेका मुखलाल महतोको शालिकमा माला चढाएर घरदैलो गरे।
लगत्तै एक चुनावी सभामा सम्बोधनमार्फत् पोखरेलले जसपाका अध्यक्ष यादवको चर्को आलोचना गरे। ‘मोरङ, सुनसरी, सप्तरी हुँदै बारामा आएर यो के नौटंकी हो? के का लागि हो यो सब? कति ठाउँमा गर्ने हो यस्तो? कार्यकर्ता उत्साहित बनाउने गरी पोखरेलले आक्रोशपूर्ण अभिव्यक्ति दिए।
स्थानीय नेताहरुले वरिष्ठ उपाध्यक्ष पोखरेललाई यो क्षेत्रमा एमालेको १६ हजार मत रहेको रिपोर्टिङ गरेका छन् । ‘हाम्रो भन्दा थोरै मात्रै धेरै उपेन्द्र यादवको मत छ। सत्ता गठबन्धनबाट केही मत आउनासाथ जित्छौं’, एमाले केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलवीर चौधरी भन्छन्।
गत मंसिरको चुनावमा भने यो निर्वाचन क्षेत्रमा एमालेले समानुपातिकतर्फ ९ हजार मत पाएको छ। प्रत्यक्षतर्फ भने एमालेले जसपाकै रामसहायप्रसाद यादवलाई मत दिएको थियो। ‘गत चुनावमा जसपालाई र २०७४ मा माओवादीलाई मत दियौं। त्यसैले हाम्रो मत देखिएन, कार्यकर्तामा पनि त्यसबेला उत्साह थिएन’ उम्मेदवार पौडेल भन्छन्, ‘यसपटक परिस्थिति बदलियो। फेरि एमालेका कार्यकर्ताले सूर्य चिह्नमा मत हाल्ने अवसर पाएका छन्।
एमाले नेताहरुले कार्यकर्तामा उत्साह भर्न र अरु मतदाता तान्न आफ्नो विगतलाई प्रचार गरिरहेका छन्। यो क्षेत्रबाट २०४८ देखि लगातार तीन पटक जितेकाले बलियो बिरासत फेरि फर्काउने भन्दै नेताहरुले सार्वजनिक भाषण गरिरहेका छन्। ‘एमालेले यहाँ २०४८ सालमा जितेको छ। २०५६ सालमा एमाले फुट्दा पनि चुनाव जितेको हो। हामीसँग सबभन्दा बलियो संगठन छ’, उम्मेदवार पौडेल भन्छन्।
गत मंसिरको चुनावमा पनि बाराका ४ मध्ये २ वटा निर्वाचन क्षेत्र एमालेले जितेको छ। बारा–१ बाट जितेका अच्युत मैनाली र ३ बाट जितेकी सांसद ज्वाला साह अहिले चुनावी मैदानमै छन्।
एमालेको चुनावी अभियान हेर्दा पार्टी मत जोगाउन प्राथमिकतामा छ। त्यसमा सत्ता गठबन्धनको असन्तुष्ट मत तान्दा जित्न सकिने हिसाब नेताहरुले सुनाउने गरेका छन्। ‘जनमतका उम्मेद्वार शिवचन्द्र कुशवाहको अलोकप्रियता र उपेन्द्र यादवलाई यहाँका जनताले रुचाएको देखिएन,’ चुनावी अभियानका उपसंयोजक मनोज पौडेल भन्छन्। जनमत पार्टीका अध्यक्ष सिके राउत मतदातामाझ प्रिय भएपनि शिवचन्द्रले मत पाउने अवस्था नरहेकाले एमालेले जित्ने आधार थप बलियो भएको उनको दाबी छ। ‘टिकटकै लागि दल छाडेको, पहिला पनि हारेको कुरा यहाँका जनताले बुझेका छन्,’ उनी भन्छन्।
तर जनमतभन्दा पनि बढी मत सत्तारुढ गठबन्धनका दलहरुबाट तान्ने एमालेको नीति देखिन्छ। राम्रै जनमत भएको पुरानो पार्टी कांग्रेसले यसअघि माओवादीका शिवचन्द्र र यसपटक जसपाका उपेन्द्रलाई उम्मेदवार बनाउँदाको लाभ आफूलाई हुने विश्वासमा उनीहरु छन्। त्यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको आफ्नै उम्मेदवार नभएकाले सत्तारुढ गठबन्धनको मत तान्न सकिने नेता पौडेल बताउँछन्।
तर कांग्रेसका स्थानीय नेताहरु भने गठबन्धनको मत अन्यत्र बाँडिने संभावना नरहेको दाबी गर्छन्। २५ चैतदेखि उपेन्द्र यादवसँगै चुनाव प्रचारमा हिँडिरहेका कांग्रेस बारा जिल्ला सभापति राजेश यादव, पार्टी निर्णयप्रति कार्यकर्ता प्रतिबद्ध रहेको बताउँछन्। एमालेले भने आफ्नो पार्टी मत जोगाउँदै गठबन्धनको कार्यकर्ता तान्न पार्टी नेतृत्वले गरेको राम्रो कामको प्रचार गरिरहेका छन्।
![]()