काठमाडौं– देशमै बनेको सवारी साधनलाई कानुनले मान्यता नदिएको भन्दै सांसद असिम शाहले सरकारको ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधि सभामा बोल्दै उनले मेड इन नेपाल, आत्मनिर्भरता, रोजगारी सिर्जना जस्ता सरकारको नारा भन्ने कुरा मात्र भएको बताए।
नेपालमा बनेको विद्युतीय सवारीले नम्बर प्लेट नपाएको कुरा अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। यही कुरालाई लिएर उनले बैठकमा आफ्नो धारणा राखेका हुन्।
ूआफ्नो देशमा बसेर सवारी साधन उत्पादन गर्छु भन्दा हाम्रो कानुनले स्वदेशमा बनेको सवारीलाई मान्यता दिदैँन। सम्बन्धित निकायसँग बुझ्दा स्वेदशमा नै बाइक र गाडी उत्पादन गरिन्छ भन्ने कुरा त्यो बेला मनन नै गरिएन, त्यसैले त्यस्तै नियम बन्यो भन्ने जवाफ आउँछ, उनले भने।
यातायात व्यपस्थापन कार्यविधी निर्देशिका २०६० संसोधन २०७४ मा सवारी दर्ताको भंसार प्रज्ञापनपत्र र भंसार महसुल अनिवार्य गरेको छ। यो नियमले गर्दा स्वदेशी उत्पादनले दर्ताको प्रमाणपत्र पाउन नसकेको कुरा बताउँदै यसले नेपालमा उत्पादित सवारी साधनको दर्ताको नम्बर प्लेट पाउन नसकेको उनले बताए।
ूनम्बर प्लेट नहुँदा खरिदकर्तालाई ट्राफिक प्रहरीले नम्बर प्लेट नभएको आधारमा दुख दिने गरेका छन्,ू उनले बताए । नेपालमै बनेको विद्युतीय बाइक यात्री दर्ता हुन नसक्दा एकातिर कम्पनिले आफ्नो उत्पादन रोकेको छ भने अर्कोतिर नम्बर प्लेट नहुँदा ट्राफिक प्रहरीले सवारी नै जफत गर्ने गरेको छ।
यसलाई मध्यनजर गर्दै नेपालमा बनेको विद्युतीय सवारी लगायत नेपालमा नै एसेम्बल हुने सवारीको हकमा समेत फरक नियम बनाएर व्यवस्थापन गरिनुपर्ने उनले अभिव्यक्ति दिएका छन्।