काठमाडौं– उपप्रधान, रक्षा एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरुको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताएका छन्।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले ऐनहरु प्राथमिकता तोकेर अगाडि बढाउने बताए। उनले कतिपय संघीय ऐनहरु संसद्मा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेका उल्लेख गर्दै ती सबै ऐनहरुको प्राथमिकता तोकेर काम अगाडि बढाइने बताए।
कानुनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित ढंगले गर्ने उनले बताए। मन्त्री खड्काले ऐनहरु निर्माण गरेर जनताका अधिकारहरुको कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यान रहेको उल्लेख गरे।
“कतिपय संसद्मा पुगेर पनि रोकिएका संघीय ऐनहरु छन्। कतिपय नयाँ ऐनहरुको निर्माण गर्नुपर्ने काम छ। ती सबै कुराहरुलाई प्राथमिकतामा राखेर जुन ऐनहरु अगाडि बढिसकेका छन्, ती ऐनहरुलाई चाँडो गतिमा संसद्मा पेस भएका ऐनलाई संसद्मार्फत पारित गर्ने कुरामा प्रयत्नशील हुने,” उनले भने, “संसद्मा पु¥याउनका लागि तयार भइरहेका कतिपय ऐनहरु कानुन मन्त्रालयले आफ्नो काम सम्पन्न गरेर, विभिन्न मन्त्रालयहरुसँग समन्वय गरेर मन्त्रिपरिषद्मार्फत संसद्मा कतिपय संघीय कानुनहरु पठाउनुपर्ने काम छन्।
उनले प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा थप आनौपचारिक छलफलको आवश्यकता परेकाले आज बसेको संवैधानिक परिषद्को बैठकले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकेको पनि बताए।