तनहुँ–१ बाट निर्वाचित भएपछि गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु : प्रधानमन्त्री  - Chaitanya News
  • 2026-07-04
  • 06:34:38
  • शनिबार,आषाढ २०, २०८३
  • तनहुँ–१ बाट निर्वाचित भएपछि गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु : प्रधानमन्त्री 

    तनहुँ–१ बाट निर्वाचित भएपछि गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु : प्रधानमन्त्री 

    काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले तनहुँ–१ बाट निर्वाचित भएपछि गोविन्द भट्टराईलाई मन्त्री बनाउने उद्घोष गरेका छन्। उनले आफूले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको, तर पौडेल प्रधानमन्त्रीभन्दा पनि ठूलो पदमा पुगेको बताए।

    उपनिर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका भट्टराईका लागि भोट माग्दै प्रधानमन्त्री दाहालले बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा भने, ‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो। देशलाई सुशासन, शान्ति र संमृद्धितर्फ लैजाने हामीले नै हो। त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ।’

    चुनावीसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिले नै भट्टराईलाई मन्त्री बनाउने घोषणा गरेका थिए। देउवापछि बोलेका प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवाले भनेको वचन पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए। ‘यसअघि मैले तनहुँ आएर रामचन्द्र पौडेलजीको लागि भोट मागेको थिएँ, त्यसबेला मैले उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थिएँ। उहाँ मैले भनेकोभन्दा अझै ठूलो पदमा पुग्नुभयो, राष्ट्रपति बन्नुभयो। अहिले फेरि गोविन्द भट्टराईकोलागि भोट माग्न तपाईंहरूको अघि उभिएको छु,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘अघि शेरबहादुरजीले भनिसक्नुभयो, तर अहिले म प्रधानमन्त्री छु, अहिले मन्त्री बनाउने मैले नै हो। म गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु । हामी गठबन्धनका सबै शीर्ष नेताहरू यसमा प्रतिबद्ध छौं।

    प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धनलाई हलुका रुपमा नबुझ्न आग्रह गरे। यसअघि मलाई अरु कसैको सहयोग पाएर प्रधानमन्त्री नै भएपनि चैन भएन, मलाई प्रधानमन्त्री बनाउन नपाएपछि शेरबहादुरजीलाई पनि चैन भएन। त्यसैले हामी फेरि एकताबद्ध भयौँ। हाम्रो लभ अलि गहिरो भइसकेको रहेछ, उनले भने, हाम्रै निर्णयले अहिले फेरि राष्ट्रपति, उपराष्ट्रपतिदेखि संघ र प्रदेशका सरकारहरु बनाउने अवस्थामा पुगिएको छ। यसलाई सामान्य ढंगले नबुझिदिनुहोला। हामी अब मुलुकको अर्थतन्त्र सुधार्ने र विकासको बाटोमा देशलाई अघि बढाउनेमा केन्द्रित भइरहेका छौँ।

    प्रधानमन्त्री दाहालले कुनै पनि आँधीहुरी बतासबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए। ‘भ्रममा नपर्नुहोला, कहिलेकाहीं खहरे उर्लिएर आउँछ, तर छिट्टै सुक्छ। यसपटक खहरे सुक्नेवाला छ,’ प्रधानमन्त्री दाहालले भने, ‘गोविन्द भट्टराईलाई रुख चिह्नमा मतदान गर्नुहोस्। रुख चिह्न अब हामी सबैको साझा चिह्न भएको छ।