काठमाडौं– ओमानले एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा कतारमाथि ओमानले ४० रनको जित दर्ता गरेको हो।
ओमानले जितका लागि दिएको २५० रनको लक्ष्य पछ्याएको कतार ४७।२ ओभरमा अलआउट हुँदै २०९ रनमा समेटिएको हो। कतारका लागि कप्तान मोहम्मद रिज्लनले सर्वाधिक ४३ रन जोडे । साथै खुरम शाहजादले ३० रन, इमालले २७ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ ओमानका बिलाल खानले सर्वाधिक ४ विकेट लिए। साथै जय ओड्रेरा र अकिव इलियाशले समान २२ विकेट लिए भने जिशान मक्सुदले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो। ओमानका लागि आयान खानले अर्धशतकीय इनिङ्स खेले। उनी ५९ बलमा सर्वाधिक ६४ रन बनाउँदै अविजित रहे।
साथै कप्तान जिहान मक्सुदले ४१ रन, सन्दीप गौडले ३४ रन जोडे । कश्यप प्रजापति र मोहम्मद नादिमले समान १८–१८ रन जोडे भने अकिव इलियाशले १७ रन तथा जतिन्दर सिंह र अदिलले १६–१६ रन जोडे।
बलिङतर्फ कतारका मोहम्मद र अमिरले समान ३–३ विकेट लिए भने इक्रामुल्लाह खानले २ विकेट लिए।
जितसँगै समूह ए को ओमानले २ अंक जोडेको छ। अब दोस्रो खेलमा शुक्रबार ओमानले घरेलु टोली नेपालको सामना गर्नेछ। नेपालले पनि प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ।