काठमाडौं– नेपाली काँग्रेसकी सांसद आरजु राणाले विद्यालय व्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण देखिएको टिप्पणी गरेकी छिन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राणाले नतिजाको आधारमा शिक्षक र विधालयलाई दण्ड र पुरस्कारको व्यवस्थागर्नु पर्नेमा जोड दिइन्। उनले पछिल्लो समय विद्यालय व्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण देखिएको टिप्पणी पनि गरिन्।
राणाको भनाइ छ – ‘नतिजाको आधारमा शिक्षक र विद्यालयलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ। विद्यालयमा व्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको देखिएको छ तसर्थ समितिको कार्यशैली परिर्वतनगर्न निर्देशिका अद्यावधिक गर्नु पर्दछ। पछिल्लो समय विश्वविद्यालयमा विद्यार्थी भर्ना संख्या न्यून भएको उनले बताइन्।
विद्यालयमा लगानी अनुसारको प्रतिफल नहुनु अर्को निराशाजनक पक्ष बनेको सांसद राणाको ठम्याई छ।
धनगढीका १७ वटा विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरु वार्षिक परीक्षामा एक जना पनि पास हुन नसकेको उल्लेख गर्दै उनले सरकार र सरोकारवालाको ध्यानाकर्षण समेत गराइन्।
अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने उनको सुझाव छ।
राणाले भनिन् – ‘देश भरका आधारभूत विद्यालयमा अंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति–नियम र स्रोत साधनको सुनिश्चितता गरिनु पर्छ।
शिक्षामा कुन तहको सरकारको के, कति अधिकार र क्षेत्राधिकार हो भनी निर्क्यौल गरिनु पर्ने पनि उनको भनाइ छ।
राणाको भनाइ छ – ‘शिक्षा अधिकारको सम्बन्मा संघ, प्रदेश र स्थानीय तहलाई प्राप्त अधिकारको बारेमा स्पष्ट व्यवस्था गरिदिनु पर्छ र शैक्षिक मुल्याङ्कन अपरिहार्य छ।