काठमाडौं– प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिंहले देश एउटै समुदायले चलाउन खोजे देश दुर्घटनामा जाने बताए। उनले देश दुर्घटनामा जानुमा चार–पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार हुने बताए।
उनले देशलाई भागबन्डाका कारण विगत ३० वर्षमा अगाडि बढाउनुको सट्टा पछाडि धकेलिएको बताए। उनले हालसम्मका सत्ताले जानि जानि नागरिकता विधेयक पारित नगरेको पनि बताए।
उनले भने, ‘सदनमा सभामुखमार्फत रुलिङ होस् । नागरिकता विधेयक पास हुनुपर्छ। म राज्य व्यवस्था समितिको सदस्य थिएँ पछिल्लो कार्यकालमा। त्यहाँ जानि जानि तत्कालीन सत्ताले नागरिकता विधेयक पास गर्न दिएन। आफ्नो सांसदहरुलाई अल्मल्याई राख। त्यसमा कोही कसैसँग कम छैन। किनकी नागरिकता समस्या गरिवको छोराछोरीको छ। नागरिकता समस्या उसको छ जो सत्तामा छैन। त्यस कारणले एउटै समुदायले देश चलाउन खोज्नुहुन्छ देश दुर्घटनातिर जाँदैछ। म बारम्बार भन्छु । मेरो भनाई गलत होस्। तर देशको दुर्घटना बचाउनुहुन्छ? त्यसको जिम्मेवार चार–पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री हुनेछन्। यति म सदनमा मात्र होइन, संसारको अगाडि उभिएर भन्छु। किनकी ३० वर्षमा नेपाललाई अगाडि बढाउनुको सट्टामा पछाडि धकेलियो भागबन्डाका कारण। गरिवको छोराछोरी नागरिकता पाउनु हुँदैन।
उनले नागरिकताको सवाल कुनै पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको छोराछोरीको भएको भए अहिलेसम्म नागरिकता विधेयक पास भइसक्ने टिप्पणी गरे।