काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
उर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन्। सम्मेलनको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए।
सम्मेलनमा डा. महतले भने, “९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत् उत्पादन हुन्थ्यो। जब निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपियो। जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो। ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ।
ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको डा. महतले बताए। निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत् निर्यात गर्न थालेको छ। यो हाम्रा लागि खुसीको खबर हो। यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको मन्त्री डा. महतको भनाइ थियो।
मन्त्री डा. महतले भने, “नेपालमा उर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु। लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ। सरकारले लगानीको प्राथमिकतामा उर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ। लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौँ। निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले उर्जामा राम्रो भएको छ। नेपालको गतिलो आम्दानीको स्रोत उर्जा नै हो।
उनले उनले सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने बताए। विद्युत्का लागि बंगलादेश अर्को ठूलो बजार हो। बंगलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ। विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन्” उनले भने।
विद्युत् उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनीहरू पाइपलाइनमा रहेको डा। महतले बताए। उनले भने, “उनीहरू मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु।
यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । विद्युतीय खपतमा पनि हामी त्यत्तिकै हुन जरुरी रहेको मन्त्री डा। महतले बताए। घरायासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत् खपत बढाउन सकिने डा. महतको भनाइ थियो।