काठमाडौं- जिल्ला र इलाका प्रशासन कार्यालयमा मात्र पाँच अधिकृतको दरबन्दी तीन महिनादेखि रिक्त छ । सर्वसाधारणको प्रत्यक्ष सम्पर्क हुने र दैनिक काम हुने कार्यालयमै अधिकृत अभावले सेवा प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना प्रशासकीय अधिकृत र इलाका प्रशासन कार्यालय घर्ती गाउँमा दुई अधिकृतको दरबन्दी रिक्त रहेको हो ।
जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी र दुई जना प्रशासकीय अधिकृत तीन महिनादेखि छैनन् । गृह मन्त्रालयले सहसचिव नवराज सापकोटालाई प्रजिअ र उपसचिव परमानन्द घिमिरेलाई सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाएको थियो । तर, सापकोटाको सरुवा भएपछि एक महिनादेखि उपसचिव घिमिरे निमित्त प्रजिअका रूपमा कार्यरत छन् । घिमिरे रुकुम पश्चिमबाट रोल्पा आएका हुन् । घिमिरेले तीन दरबन्दी रिक्त भएकामा एक्लै काम गर्नुपर्दा बेफुर्सदी हुनुपरेको बताए । सरकार र राजनीतिक दलका नेताको यसतर्फ ध्यान नपुग्नु दुःखद भएको उनले बताए ।
इलाका प्रशासन कार्यालय घर्तीगाउँमा पनि कार्यालय प्रमुख ९अधिकृत०को पद रिक्त छ । इलाका प्रशासन पनि एक वर्षदेखि निमित्तका भरमा चलिरहेको छ । जिल्ला कारागार कार्यालयमा पनि कार्यालय प्रमुखको पद रिक्त छ । अधिकृत तहका कार्यालय प्रमुख नभएकाले लामो समयदेखि निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ । कारागार जस्तो संवेदनशील क्षेत्रमा अधिकृत तहको कर्मचारी पठाउन नसक्नु सरकारको कमजोरी भएको सांसद ईश्वरी घर्तीमगरले बताइन् ।
त्यस्तै जिल्ला अस्पताल रोल्पाको कार्यालय प्रमुखको पद पनि लामो समयदेखि रिक्त छ । सरकारले मेडिकल सुपरिन्टेन्डेन्ट नियुक्तिमा चासो नदिंदा एक वर्षभन्दा बढी समय अस्पताल नेतृत्वविहीन छ । निमित्तले नियमित कार्य सञ्चालन गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले अस्पताल जस्तो महत्त्वपूर्ण क्षेत्रमा प्रमुखलाई नखटाउनु दुःखद भएको बताए । उनले यसबारे चाँडै प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउने पनि बताए । प्रदेश सरकारको अग्रसरतामा गठित अस्पताल व्यवस्थापन समितिले ध्यान नदिनु दुःखद भएको प्रजिअले बताए ।