चेस खेलेरै ओली राजनीतिक खेलाडी बन्नुभएको छ : अध्यक्ष तिमिल्सिना - Chaitanya News
  • 2026-07-04
  • 04:57:00
  • शुक्रबार,आषाढ १९, २०८३
  • चेस खेलेरै ओली राजनीतिक खेलाडी बन्नुभएको छ : अध्यक्ष तिमिल्सिना

    चेस खेलेरै ओली राजनीतिक खेलाडी बन्नुभएको छ : अध्यक्ष तिमिल्सिना

    काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पार्टी र पार्टीका नेतृत्वप्रति कटाक्ष गरेका छन्।
    मंगलबारबाट काठमाडौंमा सुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरुप्रति कटाक्ष गरेका हुन्।

    उनले त्याग गरेका नेताहरुको तुलनामा भर्खरै राजनीतिमा आएका नेताहरुको चर्चा बढी भइरहेको भन्दै राजनीतिमा टिकेर देखाउन सक्नुपर्ने बताए।

    ‘अब गर्ने कुराको महत्व हुन्छ, हिजो हामीले के गरेका थियौँ, त्यो इतिहास हो। इतिहासलाई बचाउने र त्यसलाई जीवन्त दिने कुरामा वर्तमानमा पनि त्यत्तिकै राख्नुपर्छ’, उनले भने, ‘आज त्यत्ति नेताहरुले चासो नदिएको जस्तो देखिन्छ। त्याग गरेका भन्दा भर्खरै हार्ईंफाईं गर्नेहरु नै बढी चर्चामा आउने गरेका छन्। कति टिक्नुहुन्छ, टिक्दा त राम्रो शुभकामना कति हुन्छ भविष्यले बताउँछ।

    उनले बुद्धिचालका कारण मानिसहरुको दिमाग तेजिलो हुनेपनि बताए। उनले नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरुमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गरे। उनले चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उनले राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जंगलदेखि संसद र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताए। अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बन्नुभएको हुनसक्ने बताए।

    ‘बुद्धिचाल राजनीति गर्नेले पनि राम्रोसँग खेल्यो भने धेरैकुरा जान्दछ। मैले चिनेको मध्येमा र थाहा पाएको मध्येमा धेरै नेताहरु खेल्नुहोला, मसँग जोडिएको भएर भनेको होइन, केपी ओली जी जेलमा हामी सँगै थियौँ, उहाँ त्यतिबेला पनि चेसमा उहाँलाई कसैले हराउन सक्दैन थियो’, अध्यक्ष तिमल्सिनाले भने।

    ‘उहाँ राजनीतिक खेलाडी त हुँदै हो, सबैले बुझेकै छौँ, साँच्चिकै खेलाडी पनि हो। जेलमा हुने खेलहरुमा भलिबल अलिअलि, क्यारेमबोड, चेस, ती सबैमा उहाँलाई कसैले हराउन सक्नु हुँदैन थियो। खेलका कारणले राजनीतिमा जुन ढंगले अहिले भुमिका खेल्नुभएको छ, चेसले यो विकास गरेको हुनुपर्छ। त्यो एउटा धेरै कारणमा होला’, उनले भने, ‘शेरबहादुर देउवाले धेरै खेल्नुभएको होला, किनभने उहाँ धेरै पटक प्रधानमन्त्री हुनुभएको छ, पुष्पकमल दाहालले खेल्नुभएको होला, जंगलदेखि सदन, सरकार सबैतिर तहल्का मच्चाउनुभएको छ। जेलदेखि अहिलेसम्म मेरो ओलीजसँग संगत लामो भएकोले थाहा पाएको हो। खेलको महत्व देशले बुझ्न थालेको हो की भन्ने लागिरहेको छ। तर चेसलाई राज्यले त्यत्ति महत्व दिएको छ जस्तो लाग्दैन, दिनुपर्छ।

    अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्व नदिएकाले आगामी दिनमा महत्व दिन आग्रह गरे। उनले चेस खेल नेपालको जनकपुरबाट उत्पत्ति भएको पनि बताए।