अखिल नेपाल किसान महासंघको अध्यक्षमा प्रेम दंगाल चयन - Chaitanya News
  • 2026-07-04
  • 04:56:53
  • शुक्रबार,आषाढ १९, २०८३
  • अखिल नेपाल किसान महासंघको अध्यक्षमा प्रेम दंगाल चयन

    अखिल नेपाल किसान महासंघको अध्यक्षमा प्रेम दंगाल चयन

    काठमाडौं– अखिल नेपाल किसान महासंघको अध्यक्षमा प्रेम दंगाल चयन भएका छन्। महासंघको हालै झपामा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनले एमाले केन्द्रीय सदस्य समेत रहेका निवर्तमान अध्यक्ष दंगालको नेतृत्वमा २०१ सदस्यीय केन्द्रीय समिति सर्वसम्वत चयन गरेको हो।

    महासंघका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरु खडक बहादुर खड्का, वेनु शिवाकोटी, सूर्य बहादुर शाही, राजकुमार उप्रेती र रामशरण आलेमगर चयन भएका छन्। त्यस्तै महासचिवमा बाबुराम थापा, उपमहासचिवहरूमा प्रेम नारायण अधिकारी र सरिता भुसाल निर्वाचित भएका छन्।

    सचिवहरूमा विश्व बराल, कमरेड उमेश गुप्ता, कृष्ण अधिकारी, वेदप्रसाद गर्बुजा, टेकबहादुर बोगटी, आरति पौडेल र तारा खाति चयन भएका छन्।

    महाधिवेशनमा मुलुकभरका ७७ जिल्ला र २२ वटा विषयगत सङ्गठनहरूका ११४५ जना प्रतिनिधिहरू सहभागी रहेका थिए। त्यसैगरी महाधिवेशनले कृषि क्रान्तिको कार्यक्रमलाई अद्यावधिक गर्दै राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन, विधान संशोधनको प्रस्ताव तथा आर्थिक प्रतिवेदन पारित गरेको छ।

    त्यस्तै महाधिवेशनले किसानले भोगिरहेका र कृषि क्षेत्रको रूपान्तरणका लागि गर्नु पर्ने कामका विभिन्न २९ वटा प्रस्ताव पारित गरेको छ।

    त्यसअघि दक्षिण एसियाली किसान सम्मेलन समेत सम्पन्न भएको छ।

    सो सम्मेलनले दक्षिण एसियाली किसान मञ्चको ९ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको छ। जसको अध्यक्षमा अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगाल, उपाध्यक्षमा बङ्गलादेशबाट निमाइ गांगुली तथा भारतबाट एक उपाध्यक्ष र सदस्यको नाम पछि पठाउने गरी निर्णय भएको बताइएको छ। त्यस्तै महासचिवमा पाकिस्तानका तारिक महम्मद, सचिवमा भारतका पिभि रामाराज सुन्दर र श्रीलंकाकी सिवानी दिपा र सदस्यमा नेपालबाट अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसाल र बङ्गलादेशबाट परेशरन्जन खारलाई निर्वाचित गरेको छ। सम्मेलनमा दक्षीण एसियाका १२५ जना प्रतिनिधिहरू सहभागि रहेका थिए। यो संगठनको सचिवालय नेपालमा रहने र यसको सञ्चालन अखिल नेपाल किसान महासंघले गर्ने निर्णय भएको छ।