निमावि शिक्षकका लागि ७५ हजारको आवेदन - Chaitanya News
  • 2026-05-02
  • 04:53:13
  • शुक्रबार,बैशाख १८, २०८३
  • निमावि शिक्षकका लागि ७५ हजारको आवेदन

    निमावि शिक्षकका लागि ७५ हजारको आवेदन

    काठमाडौं –  सरकारले निम्न माध्यमिक तहको शिक्षकका लागि खुलाएको आवेदनमा ७५ हजार बढी शिक्षकको आवेदन परेको छ । शिक्षक सेवा आयोगले माग गरेको निमावि तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको हो ।

    विभिन्न विषयका लागि शिक्षक माग भएकोमा सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको आयोगले जनाएको छ ।

    नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि ८ हजार ५१४, विज्ञानको २९० पदका लागि ३ हजार ८९४ जनाले आवेदन दिएका छन् ।

    सामाजिक विषयको १११ पदका लागि १९ हजार ९४१, गणित विज्ञानमा ३५५ पदका लागि १८ हजार ६८ जनाको, संस्कृत भाषाको ४ पदका लागि ३८ जनाको, संस्कृत व्याकरणमा ३ पदका लागि १३ जनाको, संस्कृत कर्मकाण्डको १ पदका लागि ६ जनाको र शुक्लयुजर्वेद एक पदका लागि लागि दुई जनाको आवेदन परेको छ ।

    आयोगले निमावि तहको सामान्यतर्फको परीक्षा ९ वैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ ।

    शिक्षक सेवा आयोगले प्रावि तहमा ७ हजार ८८२ शिक्षक पनि माग गरेको छ । जसमा नियमित शुल्क तिरेर ८ वैशाखसम्म र दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ । आइतबारसम्म ५४ हजारभन्दा बढीले आवेदन दिइसकेका छन् । प्रावि तहको सामान्यतर्फको परीक्षा जेठ २० गते सञ्चालन हुनेछ ।

    आयोगनका अनुसार माध्यमिक तहको शिक्षक पदका लागि आयोगले लिएको सामान्य परीक्षामा करिब आधा परीक्षार्थी मात्र उतीर्ण भएका छन् । आयोगले ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका हुन् ।