काठमाडौं– नेकपा(एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले सरकारसँग संसद चलाउने कुनै योजना नभएको आरोप लगाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको उनको आरोप छ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री दाहाल स्वयंले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंग्याउन नचाहेको बताएका हुन्।
‘बाहिर बाहिर शान्ति प्रक्रिया भनेर भाषण गर्नुहुन्छ,’ उनले भने, ‘शान्ति प्रक्रिया भन्नेकुरा प्रचण्डको मागि खाने भाँडो भइसकेको छ।’
प्रधानमन्त्री दाहालले अफ्ट्यारो पर्दा भने शान्ति प्रक्रिया भन्ने, तर सरकारमा गएपछि शान्ति प्रक्रिया सबै बिर्सिने गरेको योगेशको आरोप छ।